काठमाडौं। नेपालको पहिलो र एशियाको दोस्रो जलविद्युत् आयोजना भनेर चिनिएको फर्पिङ जलविद्युत् आयोजनाको १९६८ जेठ ९ गते तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट साँझ साढे ६ बजेतिर टुँडीखेलमा बत्ती बालेर उद्घाटन भएको थियो। प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित सो जलविद्युत् आयोजनाको नाम चन्द्रज्योति राखिएको थियो । करीब ४ वर्ष लगाएर निर्माण गरिएको सो आयोजनाको लागत सो समयमा ७ लाख १३ हजार २७३ रुपैयाँ ८२ पैसा परेको थियो।
बेलायती उपकरण र प्राविधिकहरूको उपयोग गरेर बनाइएको यो आयोजनाले सत्मुले र शेष नारायण क्षेत्रका मूलहरूबाट पानी संकलन गरी सो पानी करीब २०० मिटर झारेर ५०० किलोवाट विद्युत् उत्पादन गरिएको थियो। उत्पादित विद्युत् करीब १२ किलोमिटर वर रहेको काठमाडौं शहरका विशेषगरी राणा परिवार र हुनेखाने नगरवासीलाई वितरण गरिएको थियो।
निर्माण सम्पन्न भएको ११५ वर्षभन्दा बढी भइसक्दा पनि यो आयोजनाले अझै पनि विद्युत् उत्पादन गरीरहेको छ। तर हाल सो स्थानमा बढेको शहरीकरण र त्यसले खानेपानीको आपूर्तिमा पारेको चापको कारण सो जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न प्रयोग भएको पानी स्थानीय बासिन्दाको उपभोगका लागि प्रयोग गर्न थालिएको छ। त्यसैले गर्दा हाल विद्युत् उत्पादन गर्ने काम बन्द भएको छ। यो आयोजना क्षेत्रमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माण गर्ने, वायु सौर्य तथा जलविद्युत् सबैको प्रयोग गरी नमूना विद्युत् केन्द्र निर्माण गरी जीवति ऊर्जा संग्रहालयको रूपमा विकास गर्ने कार्यक्रम तय गरिएको छ। तर यो काम कहिले सम्पन्न गरिने भन्ने टुंगो छैन।
फर्पिङ जलविद्युत् आयोजनाले पूर्वाधार विकास, विशेषगरी जलविद्युत् विकासबारे पनि राम्रो पाठ सिकाएको छ। जलविद्युत् केन्द्रहरू भनेका सामान्य मर्मतसम्भारको भरमा, सयौं वर्षसम्म सुविधा उपलब्ध गराउन सक्ने सेवा प्रदायक संरचना हुन्। त्यसैले यस्ता आयोजनाको छनोट गर्दा यसले समाजमा दीर्घकालसम्म पुर्याउन सक्ने असरहरूको गहन अध्ययन गरिनुपर्ने साथै पूर्वाधार आयोजनाको आर्थिक मूल्यांकन र उत्पादनको मूल्य निर्धारण पनि यसको आयुलाई विचार गरेर गर्नु पदैछ। फर्पिङ जलविद्युत् आयोजना जस्ता पूर्वाधारहरू राष्ट्रका सम्पत्ति हुन्। यिनीहरूले प्रदान गर्न सक्ने सेवा तथा उत्पादन खेर जान नदिई सदुपयोग गर्दा राष्ट्रलाई नै फाइदा हुने भएकाले यस्तो संरचनालाई जोगाउन ध्यान दिन जरुरी रहेको छ।