मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न सरकारले प्रसारण लाइन तथा सबस्टेसन निर्माणलाई तीव्रता दिएको छ। ऊर्जा मन्त्रालयका अनुसार धनुषा, सिराहा, सप्तरी, रौतहट तथा बारा–पर्सामा विभिन्न उच्च क्षमताका प्रसारण आयोजना अघि बढिरहेका छन्।
धनुषामा ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा चार्ज भइसकेको छ। बालगंगा सबस्टेसन दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यस्तै, सिराहामा लहान–सुखीपुर, सप्तरीमा रुपनी–बोदेबरसाइन र रौतहटमा चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन निर्माण अघि बढाइएको छ।
बारा–पर्साको औद्योगिक करिडोरलाई लक्षित गर्दै हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण आयोजना पनि अघि बढिरहेको छ। यसअन्तर्गत पोखरियामा नयाँ सबस्टेसन निर्माण गरिँदैछ।
ऊर्जा मन्त्रालयका अनुसार यी आयोजना सम्पन्न भएपछि मधेसमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने तथा उद्योग, व्यवसाय र घरेलु उपभोक्ताको बढ्दो माग धान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।