बागलुङ। निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना समयमा सक्न बागलुङका जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले नयाँ दीर्घकालीन योजनाको प्रस्ताव बनाउन गर्न बागलुङ नगरपालिकालाई जिम्मा दिने निर्णय गरेका छन् ।
जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसमेतको सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । मंगलबार बिहान बागलुङ नगरपालिकाको आह्वानमा बसेको बैठकमा अधिकांश प्रदेशसभाका सदस्य र केही पालिका प्रमुखसमेत सहभागी थिए ।
कार्यक्रममा सहभागीले सदरमुकाममा अवस्थित भएकोले कतिपय महत्त्वपूर्ण विकासका काममा बागलुङ नगरले अगुवाइ गर्नुपर्ने धारणासमेत राखेका छन् । ‘पार्टीका रूपमा हामी फरक–फरक भए पनि जिल्ला र नगरको हितमा ल्याउने योजनामा एक ठाउँमा छौं,’ एमाले नेता तथा प्रदेशसभाका सदस्य कृष्ण पाठकले भने, ‘सबै जनप्रतिनिधि मिल्दा जिल्लाको विकासमा योगदान पुग्छ ।’
जिल्ला समन्वय समितिको भवनमा केही कोठा खालि रहेकोले कृषि ज्ञान केन्द्र सारेर नगरपालिकाले हालको स्थानमा पक्की भवन निर्माणको काम थाल्न चाहेकोले त्यसका लागि पनि सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको हो । ‘सबै सांसदले साझा कुरा लिएर जाँदा सरकारले पनि मान्नुपर्छ,’ गण्डकी प्रदेशकी माओवादी सचेतक कुशुम बुढा मगरले भनिन्, ‘जनगुनासोलाई पनि सम्बोधन गर्दै जान सकेमा राम्रा काममा सबैको साथ पाइन्छ ।’
नगरपालिका हाल ५ स्थानमा छरिएर बसेको छ । हाल नगरपालिका बसेको तत्कालीन कृषि विकास कार्यालयको जग्गा र भवन हो । ज्ञान केन्द्रलाई अर्को व्यवस्था नभइन्जेल समन्वयमा राख्न सकेमा नगरपालिकाले भवन निर्माण गरी दुवै कार्यालय संचालन गर्न सक्ने व्यवस्थापन गर्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
बैठकले जिल्लाका दसवटै पालिकाको उत्पादन तथा पहिचानका वस्तु राख्ने कोसेली घर सदरमुकाममा बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि पनि अगुवाइ भने नगरपालिकाले गर्ने छ ।
जिल्लाको दिगो विकास र समृद्धिका लागि योजना आयोगसहित सबै सांसद, मन्त्री र जनप्रतिनिधि तथा सरोकारवाला र विज्ञ टोलीसमेतको बृहत् भेला गरी दिगो विकासका योजना निर्माण गर्ने समेत बैठकले निर्णय गरेको हो । उक्त बैठकमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चम्पा खड्का, कांग्रेस सभापति तथा सांसद जितबहादुर शेरचन, डिल्लीराम सुवेदी, द्रोण कुँवरलगायतले सुझाव दिएका थिए । उक्त अवसरमा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीसमेतले आवश्यक सुझाव पेस गरेका थिए ।
नगरप्रमुख श्रेष्ठले मध्यपहाडी लोकमार्गको सडक विस्तार भइरहे पनि मालढुंगादेखि बागलुङ बजार खण्डलाई बेवास्ता गरिएकोले प्रदेशसभा र प्रदेश सरकारमा यो विषयले प्रवेश पाउनुपर्ने सुझाएका थिए । त्यस्तै मापदण्डविपरीतका संरचना हटाउने अभियान चलेको जानकारी गराए । विद्यालय शिक्षाको विषयमा एकीकृत कानुन नहुँदा पालिकापिच्छे फरक–फरक कार्यविधि बनेकोमा शिक्षकको सरुवा, बढुवा र लागत राख्ने काममा समस्या भएको पालिकाका प्रमुखको समेत चिन्ता थियो । बजेट अभावमा बागलुङदेखि सिगाना हुँदै शान्तिपुर जाने सडक, तिरुपति चोकदेखि पञ्चकोट हुँदै धम्जा जाने सडक रोकिएको छ ।
दब्ल्याङस्थित एक्लेसाल पहिरो नियन्त्रणमा साझा पहल र बजेट चाहिएको, दुई वा दुईभन्दा बढी पालिका जोड्ने साझा कार्यक्रममा प्रदेशसभाको चासो बढ्नुपर्नेसमेत जनप्रतिनिधिले धारणा राखेका थिए । नगरले बोलाएको साझा बैठक नियमित रूपमा बसेर छलफल र निर्णयमा पुग्दा जिल्लाको विकासमा योगदान पुग्ने पाठकले जानकारी दिए । कान्तिपुरबाट