काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष श्रेष्ठले उपत्यका प्रहरी प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका हुन् ।
७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । यससँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभी निगरानीमा रहँदै, ट्राफिक व्यवस्थापनमा नयाँ स्तर स्थापित हुने छ ।
एनआरएनए अध्यक्ष श्रेष्ठले यो परियोजना संरचना हस्तान्तरण मात्र नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीक रहेको बताए । उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै, एनआरएनएले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका र योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।