काठमाडौं । प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गरे ।
नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे । सरकारको नियमित बजेटबाट कुल रु चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।