चितवन। वाल्मिकी ऋषिको आश्रम मानिएको प्रसिद्ध धार्मिकस्थलमा नेपालकै बाटो भएर सजिलोसँग जान नारायणी नदीमाथि झोलुङ्गे पुल बनेको डेढ वर्ष भयो। तर पुलदेखि आश्रमसम्म पुग्ने पैदल मार्ग नहुँदा नदी तरेर त्यहाँ पुग्न पाइएको छैन ।
वाल्मिकी आश्रम जाने पुल बनेको डेढ वर्षपछि पहुँचमार्ग निर्माणको तयारी
नारायणीमा बनेको झोलुङ्गे पुल । पहुँच मार्ग नहुँदा पुल बनेको डेढ वर्ष भए पनि वारपार गर्न अझै पाइएको छैन ।
शिलान्यास भएको नौ वर्षपछि तयार भएको झोलुङ्गे पुलको पहुँचमार्ग बनाउनका लागि बल्ल बजेट सुनिश्चित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको घनाजंगल छेउमा रहेको माडी नगरपालिका–१ स्थित वाल्मिकी आश्रम भारतीय सीमानजिक पर्छ ।
निकुञ्जको घनाजंगल र अप्ठ्यारो भूगोल भएका कारण चितवन हुँदै आश्रम पुग्न सम्भव छैन । नवलपरासी हुँदै बर्दघाटबाट दक्षिण लागेपछि नारायणी नदी आडको अर्को प्रख्यात तीर्थस्थल त्रिवेणी धाम पुगिन्छ । नदी वारपार गर्न त्रिवेणीमा गण्डक बाँधको पक्की पुल तरेर आश्रम जान झण्डै सातरआठ किलोमिटर भारतीय भूमि पार गर्नुपर्छ ।
पुलको आडमा बस्ने भारतीय सुरक्षाकर्मी र वाल्मिकी टाइगर रिजर्भको पोष्टमा सुरक्षा जाँच र नाम दर्ता गर्नुपर्छ । साना गाडी लिएर गए पनि आश्रम आडको भारतीय सुरक्षा बलको पोष्टमा पार्क गर्नुपर्छ । गाडी लिएर नेपाल छिर्न भने पाइदैन ।
‘त्रिवेणीबाट झोलुङ्गे पुल हुँदै आश्रम जान धेरै सहज हुन्छ । आफ्नो देशको भूमि टेक्न विदेश हुँदै जानु पक्कै पनि सजिलो हैन । तर बल्लबल्ल पुल त बन्यो तर तर्न पाइएको छैन,’ वाल्मिकी आश्रम पारि पर्ने नवलपरासी (बर्दबाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले भने ।
त्रिवेणीधाम आउनेहरु भारत हुँदै आश्रम जाने र त्यहाँ जाँदा व्यहोरेका दुख बारे धेरै गुनासो गर्ने उनले बताए । पुलबाट स्वदेशबाटै जान पाए दैनिक एक हजार श्रद्धालु ओहरदोहर गर्ने उनको आँकलन छ ।
वाल्मिकी आश्रमको पुरानो मन्दिरका पुजारी रामशरण गिरी नेपालबाट आउन सुविधा नभएका कारण आश्रम आउनेमा ८० प्रतिशत भारतीय भएको बताउँछन् । नारायणी नदीमा झोलुङ्गे पुल बनाउन २०७० असारमा ४ सय ७९ मिटर लम्बाइको पुल पाँच करोड ८७ लाख रुपैयाँ लागतमा ठेक्का भएको थियो । दुई वर्षमा काम सक्ने सम्झौता भए पनि पुल निर्माणको काम ०७९ साउनमा पूरा भएको हो ।
विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न अफ्ठ्यारो भएको थियो । ‘ईआईए र युनेस्कोसँगको समन्वयलगायतका प्रक्रियामा कारण तयार हुन समय लाग्यो । अहिले पुल त तयार भयो, पहुँचमार्ग बनाउन नपाएका कारण नखोलेको हो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने ।
पहुँचमार्गका लागि वाग्मती प्रदेश सरकारले बजेट विनियोजन गरे पनि संघीय मन्त्रालयको सहमति लिएर काम गर्दा काम सुरु गर्न समय लागेको उनले बताए।
झोलुङ्गे पुलदेखि आश्रमसम्म निकुञ्जको जंगल हुँदै करिब तीन किलोमिटर हिँड्नु पर्छ । ‘यहाँ गाडी हिँड्ने नभएर पैदल मार्ग बनाउन लागिएको हो । फायर लाइन ९अग्नी रेखा० जस्तो दुईदेखि चाररपाँच मिटर चौडा बाटो हुन्छ । बजेटको विषय टुङ्गिएको पत्र आएपछि टेण्डरको प्रक्रियामा जान्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले भने ।
पुलदेखि आश्रमसम्म पुग्ने बाटो बनाउन प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज संघीय सरकार मातहत रहने भएका कारण प्रदेश सरकारको बजेट खर्च गर्न अर्थ मन्त्रालयको सहमति लिने काम सकिएको छ । निकुञ्जलाई बजेट उपलब्ध गराउन संघीय अर्थ मन्त्रालयले सोमबार प्रदेशलाई स्वीकृति दिएको छ । त्यसैगरी संघीय वन मन्त्रालयले पनि योजना कार्यन्वयन गर्न चितवन निकुञ्जलाई सहमति दिएको छ ।
यो प्रक्रियामा जुटिरहेका नेपाल सरकारका पूर्वसचिव आत्मराम पाण्डेले अर्थ र वन मन्त्रालयले योजना कार्यन्वयनका लागि स्वीकृति दिएकाले चाँडै काम हुने बताए । सरकारी सेवाबाट अवकाश पाए पनि उनी वाल्मिकी आश्रमको विकासका साथै झोलुङ्गे पुल निर्माणलाई गति दिन युनेस्कोसँग समन्वय गर्नेसम्मका काममा निरन्तर लागिरहेका छन् ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी त्रिवेणीधाम र वाल्मिकी आश्रम जोडिए यहाँ दर्शन गर्न आउनेको भिड लाग्ने अवस्था भए पनि निकुञ्ज क्षेत्र भएकाले प्रक्रिया पुर्याउन ढिलो भइरहेको बताउँछन् ।
पुल तयार भएसँगै यहाँ सेनाको पोष्ट पनि राख्नुपर्ने हुन्छ । पोष्ट निर्माणको काम पनि बाँकीनै छ । सुरक्षा पोष्ट राख्न गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
‘निकुञ्जको घना जंगल छ । मान्छे र वन्यजन्तु सबैको सुरक्षाको कुरा पनि हुन्छ । त्यसैले सुरक्षाको प्रबन्ध पनि गर्ने छौं,’ निकुञ्ज प्रमुख पुनले भने । बजेट भए पनि प्रदेश र संघ सरकारको प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ हुँदा यो वर्ष पनि निकुञ्जभित्र बाटो बनेर बर्खा अगावै पुल तर्न पाइने सम्भावना भने अन्यौलमै छ । कान्तिपुरबाट