म्याग्दी । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा २ सय ४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ । गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा २ सय ४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले गत वर्ष ११ वटा पुल निर्माण सम्पन्न गरेको छ । त्यसैगरी गत वर्ष ६६ दशमलव ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।
गत वर्षको पाँच वटासहित ८७ वटा झोलुङ्गे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षमा रु १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरेको मन्त्रालयले ७६ दशमलव ५२ प्रतिशत अथवा रु नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए । यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहु वर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले बताए ।
मन्त्रालयले गत वर्ष रु चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुङ्गे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहु वर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा बहु वर्षीय योजना सम्पन्न भएका छन् ।