जुम्ला। बजेट अभावले कर्णाली राजमार्गअन्तर्गत पाल्तडा–तल्लोडुङ्गेश्वर सडक खण्ड स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाएका छन् । संघीय सरकारले उपेक्षा गर्दै आएका कारण उक्त खण्डसँगै कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा कर्णालीबासीले सास्ती पाएका हुन् । जुम्ला–सुर्खेत जोड्ने २३२ किमि दूरीको राजमार्ग सञ्चालनको करिब दुई दशक भइसक्दा पनि स्तरोन्नतिमा सरकारले उपेक्षा गर्दै आएको हो ।
बजेट अभावकै कारण विस्तार तथा स्तरोन्नति नहुँदा कर्णालीकै जीवनमार्ग मानिएको राजमार्ग मृत्युमार्गका रूपमा कहलिएको छ । दैखोला–जुम्ला १०४ किमि सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । जुन क्षेत्रमा बजेट अभावका बीच पनि स्तरोन्नतिको काम भइरहेको छ । यद्यपि निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । जुम्ला खण्डकै अप्ठयारो क्षेत्रमा स्तरोन्नति नहुँदा यात्रुले सास्ती पाइरहेका छन् ।
सडक चौडा बनाउने काम भए पनि केही जोखिमयुक्त स्थानमा स्तरवृद्धि हुन सकेको छैन । सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भइरहेको बताए । उनका अनुसार, ‘जुम्लाको तातोपानी, कुडारी, रारालिही क्षेत्र तथा कालिकोटको पिलि, नयाँ बजारलगायतका ठाउँमा डबल कटिङको काम हुँदैछ ।’ यद्यपि बजेट अभावकै कारण जोखियुक्त स्थानमा स्तरोन्नति गर्न नसकिएको उनको भनाइ छ ।
यता सडक डिभिजन सुर्खेतको कार्य क्षेत्रभित्र पर्ने र पाल्तडा–तल्लोडुंगेश्वर खण्डको सडक भने वर्षौंदेखि खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भए पनि बजेट अभावले स्तरोन्नति हुनसकेको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले दहीखोलादेखि बांगेसिमलसम्म १३२ किलोमिटर सडक हेर्छ । तर पाल्तडा–तल्लोडुंगेश्वरसम्मको करिब ३० किलोमिटर वर्षौदेखि हिमाल्य र धुलाम्य हुँदा पनि सुधार नहुँदा यात्रुले सास्ती पाइरहेका छन् ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर टोपनारायण पौडेलका अनुसार उक्त सडक खण्ड स्तरोन्नतिका लागि बजेट नहुँदा काम गर्न सकिएको छैन । वर्षौं पहिले गरेको कालोपत्रे उप्किएर धुलोमात्रै छ । सरकारले कर्णाली राजमार्ग कालोपत्रेका लागि बजेट नपठाउँदा समस्या भएको उनको भनाइ छ । खाल्डाखुल्डी टाल्नसमेत बजेट नपठाउने सरकारले कर्णालीमाथि अन्याय गरेको भन्दै कर्णालीबासीले गुनासो गर्दै आएका छन् । विनियोजित बजेट अपर्याप्त हुने, हरेक वर्ष निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने दायित्व नै बढी बाँकी रहने जस्ता समस्याले कर्णाली राजमार्गको स्तरोन्नति अपेक्षाकृत रूपमा हुन सकेको छैन । कारोबार दैनिकबाट