काठमाडौं। आफ्ना दाजु देवशम्शेरलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका चन्द्रशम्शेरले राज्याभिषेक गरेको केही दिनमा नै भारतमा रहेका भाइसरायलाई भारत सरकार तथा बेलायत सरकारसंग अझ बढि सम्बन्ध प्रगाढ गर्न चाहेको उल्लेख गर्दै पत्र पठाएका थिए । भारतीय प्रधान सेनापति लर्ड किचनरलाई नेपाल भ्रमणमा बोलाएर आतिथ्यता दर्शाएका थिए । साथै लर्ड किचनरले प्रधानमन्त्री चन्द्रशम्शेरलाई फोर्थ गोर्खा राइफलको अनरेरी कर्नेलको पद दिएका थिए । भाइसरायलाई दिइएको नेपाल भ्रमणको निम्तो स्विकार नभए पनि श्री ३ चन्द्र बेलायत भ्रमणमा पुगे । अक्सफोर्ड युनिवर्सिटीबाट अनरेरी डक्टरेट ग्रहण गरे । १९६८ मा बेलायतका राजा जर्ज पाचौ नेपालमा शिकार खेल्ने उद्धेश्यले आइपुगे ।
यसरी बेलायत सरकारसंग हरतरहले नजिक हुन चाहेको चन्द्रशम्शेरले अचानक बेलायतको प्रिय हुन अर्को मौका प्राप्त गरे । अचानक बि।सं। १९७१ को साउनमा विश्वयुद्ध शुरु भएको थियो । बेलायती सेनामा भर्ति भएका गोर्खाली सैनिक त युद्धमा सहभागी हुनु स्वभाविकै थियो । नेपालबाट नेपाली सेनालाई पनि युद्धको लागी जाने अनुमति चन्द्रशम्शेरले दिए । झण्डै १६ हजार नेपाली सेना पनि युद्धमा सहभागी भएका थिए । केवल ५६ लाख जनसंख्या भएको देशले करिव २ लाख नेपाली युद्धमा सहभागिता भयो । साथै करिव २० हजारको मृत्यु भयो । युद्धको त्रासदीले गाँउ गाँउमा निकै बिधवा भए । कति सैनिकको कुनै पारिवारिक सदस्य नै भेटिएन । तर युद्धको समाप्ति पछि श्री ३ चन्द्रले बेलायत सरकारबाट स्याबासी पाए । साथै युद्धमा सहभागी भएकोमा बेलायती सरकारको तर्फबाट लर्ड चेम्सफोर्डले पत्र लेखे हामी गोर्खाली सैनिकको कदर गर्दै नेपाल सरकारलाई केही आर्थिक सहयोग गर्न चाहन्छौ । जसको परिणाम स्वरुप बेलायत सरकारले मृत्यु भएका गोर्खाली सैनिकहरुको ब्लड मनि स्वरुप नेपाल सरकारलाई वार्षिक १० लाख रुपैया उपलब्ध गराउने भयो ।
पहिलो सहयोगको रुपमा बि.सं. १९८२ सालमा काठमाडौमा सैनिक अस्पताल बनाइदिए। जसको नाम पछि त्री चन्द्र सैनिक अस्पताल राखियो। १९८२ कै चैतमा बेलायत सरकारले अमलेखगञ्ज देखी रक्सौल सम्मको करिव ४२ किलोमीटर लामो नेपाल गवर्मेन्ट रेलवे निर्माणको थालनी गराइ करिव १ वर्षमा १९८३ फागुन ५ गते पहिलो रेल गुडाइदिए ।
बेलायतको बेयर पिकक एण्ड कम्पनीले तैयार गरेको गैरेट बाफको इञ्जिन रेलगाडीहरुबाट सञ्चालित यो सेवा करिव ४० वर्ष चल्यो । ७ वटा ईञ्जिन र ८२ वटा डब्बा (bogie) सहितको यो रेलगाडीले मानिसहरुको आवतजावतमा मात्र सहजता होईन नेपालको चारकोशे झाडीका रुखहरु कटानी गराई भारत तर्फ निकासी पनि हुन थाल्यो ।
तर थोरैलाई मात्र जानकारी छ । इतिहासमा कतै उल्लेख गरिएको भेटिदैन । भारतमा पहिलो विश्व युद्धबाट फर्किएका सैनिकहरुको साथ स्पेनिश फ्लू नामक महामारी रोगको भाइरस पनि भित्रियो । जसको कारणले प्रत्यक्ष अप्रत्यक्ष गरेर २ करोड भारतीयको मृत्यु भएको अनुमान गरियो । तर नेपालमा यसको कारणले मृत्यु भएको वा यो रोग फैलिएको इतिहास कतै भेटिदैन।
तस्विरमा भएको नेपाल गवर्मेन्ट रेलवे बिरगञ्ज अमलेखगञ्ज बिच चल्ने रेल हो । साथै यो तस्विर रेलवे सेवा बन्द हुनु केही समय अगाडी मात्र खिचिएको तस्विर हो । शायद नेपाल गवर्मेन्ट रेलवे चल्दै गरेको अन्तिम समयको तस्विर यहि नै हो । २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत लग्ने या बन्द गर्दे अन्यौलतामा नै बन्द गराइयो । २०१० सालमा नै थानकोटबाट भैसै दोभानसम्मको त्रिभुवन राजपथको उद्धाटन तत्कालिन महारानी कान्ती राज्य लक्ष्मीले गरेपछि बिस्तारै रेलवे घाटामा चल्न थालेको थियो । २०१८ सालमा विरगञ्ज र भैसेसम्मको सडक पनि जोडिए पछि झन कठिनाइ हुन थाल्यो । समय समयमा गर्नुपर्ने मर्मत नगरिदाँ रेलवेलाई पैदल यात्रुले पनि उछिन्ने अवस्था आउन थाल्यो । जसको कारणले यसलाई सरकारले नियमित गर्न चाहेन ।
सन १९६५/६६ मा नेपाल सरकारको अनुरोधमा विश्व बैंकले गरेको सर्वेक्षण अनुसार एनजिआर लाइ सुचारु गरिरहदा सो समयको एक लाख डलर अर्थात ७५ लाख रुपैया लाग्ने तर त्यसको नजिकबाट नयाँ रेलवे नेपाल विरगञ्ज टर्मिनल रेलवे सञ्चालन गराउँदा ३० लाख रुपैया लाग्ने इष्टिमेट देखाइयो । जसले भारतबाट सिधै विरगञ्ज सम्म रेल आउन सक्ने तथा विरगञ्ज पछि सडक यातायातको उपयोग गर्ने योजना बनाइएको थियो । यो नयाँ सर्वेक्षणले गर्दा पनि नेपाल सरकार एनजिआरलाई बन्द गर्न तैयार भएको थियो। सुनिल उलकको फेसबुक पेजबाट