काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने बताएका छन् । बिहीबार विद्युत् नियमन आयोगको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
उनले उपभोक्ताले मागेको बिल विद्युत् प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानुनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने बताए ।
उनले आफूले कहिले पनि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नउठान नभनेको स्पष्ट पारे । दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन सरकारले भनिरहेको अवस्थामा यसलाई छिनोफानो गर्ने काममा लाग्न उनले आग्रह गरे । मन्त्री खड्काले अधिकार सम्पन्न नियमन निकाय हुँदा पनि टीओडी मिटरका विषयमा लामो विवाद हुन लज्जास्पद भएको बताए ।