महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।
बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिए ।
“राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भने, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए।
भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकरात्मक देखिएको छैन ।