पर्वत। र्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङमार्फत पानी वितरण गर्न थालिएको छ। डिप बोरिङ गरेर निकालिएको पानी विष्टपानीका १७ घरमा वितरण गर्न शुरू गरिएको हो।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको उद्घाटन गरेका छन् । सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको शर्माले बताए । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको भन्दै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना शुरू गर्न सकिने सम्भावना रहेको बताए ।
नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनतामाझ गएको प्रमुख शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउन धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमीनमुनिबाट पानी तानेर नमूना काम गरेको चर्चा गरे ।
नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा नआउने समस्याका कारण आजित भएका विष्टगाउँवासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए । शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेर समेत पानीको गर्जो टार्ने चलन थियो ।