पोखरा। फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण गर्न सुरु गरिएको छ। विसं २०७२ को भूकम्पबाट क्षति पुगेको मन्दिर भत्काएर पुनःनिर्माण गर्न प्रक्रिया थालिएको हो।
पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ।
ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो । हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गरेका थिए।
पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माण गर्न लागिएको समितिको भनाइ छ।
मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।