नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो किरियापुत्री भवन बन्ने भएको छ । किरियापुत्री भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बिहिबार शिलान्यास गरेका हुन्।
उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बनाउन लागिएको छ।
सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि नेपालगन्ज वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो ।भवनमा महिला र पुरुषका लागि अलग अलग काजक्रिया गर्ने ब्यवस्था मिलाइएको छ ।
करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष सेमराज शाक्यले बताए ।
केएस इन्जिनियरिंग एण्ड विल्डर्सले निर्माण गर्न थालेको किरियापुत्री भवन दुई तले हुनेछ । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी घर बनाउन थालिएको छ ।