काठमाडौं। साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरिएको छ। साझा यातायात केन्द्रीय कार्यालयले सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
साझा यातायातको सीईओका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरह शैक्षिक उपाधि हासिल गरेको र कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सोसरह पदमा सात वर्ष काम गरेको अनुभव भएको योग्यता तोकिएको छ ।
दर्खास्त दिनेको उमेर ३५ वर्ष पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म ६३ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लखे छ । इच्छुकले २१ दिनभित्र दर्खास्त बुझाइसक्नुपर्ने छ ।