काठमाडौं। ब्रिटिस भारतको भाइसराय तथा गवर्नर जनरल फ्रिमान थोमसले राणा प्रधानमन्त्री जुद्धशम्शेरलाई भारत भ्रमणको निम्तो पठाएको थियो। दिल्ली दरवारमा भाइसरायको निम्तो सहर्ष स्विकार गर्दै जुद्ध शम्शेर बि.सं. १९९१ को माघ ३ गते दिउँसोको ठिक १२:१५ को शुभसाइतमा जावलाखेल दरवारबाट निस्किएका थिए । देशमा महाभूकम्प गएको एक वर्ष मात्र भएको थियो। जताततै भताभुङ्ग थियो। भत्केका मन्दिर, दरवारहरु तथा अन्य संरचना पूनर्निर्माण हुदै थिए। अचानक भाइसरायको निम्तोलाई नकार्न सकेनन् वा चाहेनन् तसर्थ तुरुन्तै दिल्ली दरवार भ्रमणको तैयारी गरेका थिए।
भोलीपल्ट माघ ४ गते अमलेखगञ्ज पुगे। ४ दिन अमलेखगञ्जमा नै आराम गरेर माघ ८ गते एनजिआरको रेलमा रक्सौलको लागी निस्किए। दिउसो ३ः४५ मा रक्सौल पुगे ४ः३० मा त्यहा तैयार अवस्थामा राखिएको स्पेशल ट्रेनमा जौनपुरको लागी हिडे। जौनपुरमा महाराजाको लागी बिशेष ब्यबस्था गरिएको हुँदा त्यहि बास बस्ने गरि रेल तैयार राखिएको थियो। रेलमा महाराजाका पारिवारिक सदस्य र भाइभारदार गरेर १४३ जना थिए। भने नोकरचाकर ११० जना साथमा थिए । सबैको सम्पूर्ण ब्यबस्था भारत सरकारले नै गराइदिएको थियो। महाराजाको लागी बनाइएको रेलको बिशेष सुटमा मोहनशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, सूर्यशम्शेर, नारायणशम्शेर, बडाकाजी मरिचीमान सिंह, काजी रत्नमान, राजगुरु पण्डित हेमराज तथा केही अन्य थिए। रक्सौलमा भव्य स्वागत तथा विदाइ पछि जौनपुरको लागी रेल हिड्यो।
जौनपुरको छोटो बसाइमा मुख्य मुख्य स्थलको भ्रमण पछि स्पेशल ट्रेनको अगाडी इञ्जिनमा नेपालको राष्ट्रिय झण्डा फरफराउदै माघ १० गते आग्रा पुगे। आग्रामा महाराजा आराम गर्न डाक बंगला तर्फ लागे भने साथमा आएका अन्य मोहनशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, सूर्यशम्शेर, नारायणशम्शेर ताजमहल घुम्न निस्किए। यहाँ राखिएको तस्विरमा राणा परिवार ताजमहलको अगाडी बसेको देख्न सकिन्छ। आग्राबाट बल्लभगढको लागी रवाना भए जहाँ महाराजा उनका भाइभारदार तथा नोकरचाकरको लागी बस्ने ब्यबस्था मिलाइएको थियो। बल्लभगढमा रेलबाट महाराजा ओर्लनु अगाडी महाराजाले नेपालबाट नै लगेका २५ जना भुसतिघ्रे सुरक्षा गार्डले सुरक्षा दिएको थियो। त्यहा केही समयको बसाइ पछि दिल्लीको लागी हिडे। माघ १३ गते बिहान ११ः१५ मा दिल्लीमा पुग्दा महाराजाको भव्य स्वागत भएको थियो। १९ टोपको सलामी तथा बिशेष रुपले सजिएको बग्गीमा राखेर निजामको दरवारमा बस्ने प्रवन्ध मिलाईएको हुँदा त्यति सवारीको ब्यबस्था गरिएको थियो। कनाटप्लेस, क्विन्सवे, किङ्गस्वे, वार मेमोरियल हुदै निजामको दरवार जाँदा बाटो भरि उभिएका जनताहरुले नेपाल महाराज कि जयू को नारा लगाएका थिए। दरवार जहाँ महाराजाको बस्ने प्रबन्ध मिलाइएको थियो, त्यहा पुग्दा गोर्खा रेजिमेन्टका गोर्खाली सैनिकहरुले बिशेष रुपमा गुलावको फूल वर्षाएर स्वागत गरेका थिए। दरवारमा महाराजा जुद्धशम्शेरलाई स्वागत गर्न पण्डित मदनमोहन मालविय, पण्डित दिनदयाल, भाइ परमानन्द लगायतका पुगेका थिए।