काठमाडौं। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु फेला परेका छन्। अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेको हो।
सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै डोजर लगाउने कार्य रोक्न आइतबार पुरातत्व विभागले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।
प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्न समेत आग्रह गरिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ ।
गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ ।