काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले विजुलीको ट्रान्समिसन लाईन बनाउने एमसीसी परियोजनाबाट अमेरिकी सेना र गोलाबारूद्ध नआउने बताएका छन्।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसी परियोजनाबाट अमेरिकी सेना आउने आशंकाप्रति आपत्ति जनाएका हुन्।
उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन्।
उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्क गरे।
एमसीसी परियोजना घरघरमा विजुली पुर्याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे। विजुलीको ट्रान्समिसन लाईन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारूद्ध नआउने उनको भनाई थियो।
गृहमन्त्री खाँडले भने, ‘सबैको सहमतीबाटै एमसीसी प्रस्ताव पास भएको छ। एमसीसीबारे धेरै नै प्रतिक्रिया आयो। संसदबाट पास गर्नुभन्दा अगाडि धेरै प्रतिक्रियाहरु आए। तर हामीलाई यो एमसीसी प्रस्ताव पारित गर्नै पर्यो। किनकि, अमेरिकाले नेपालजस्ता गरिवी मुलुकहरुको गरिवी निवारणका लागि र रोजगारी वृद्धिका लागि, भौतिक पूर्वाधारको विकासका लागि सम्बन्धित मुलुकले प्रस्तावित गरेको परियोजनालाई स्वीकृत गरेर नै विभिन्न देशहरुमा एमसीसी आउने हो।’