काठमाडौं। स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ। नेपालकै अग्लो ५८ फिट अग्लो मूर्ति निर्माण गरिएको हो।
नवनिर्मित बुद्धको मूर्तिले पर्यटक आगमन बढाएको छ। मूर्ति निर्माणपछि अवलोकन तथा घुमघाम गर्न आउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुने गरेको छ।
५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ। अर्जुनचौपारी वडा नं. ६ को समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाई रहेको थाप्लेमा बुद्धको बनेको छ। स्थानीय दरौंका गुरुङ समुदायको सहयोगमा बुद्धको मूर्ति निर्माण भएको हो।
२०७५ सालदेखि सुरु गरिएको मूर्ति झण्डै ३ वर्षमा रंगरोगनसहित निर्माणको काम पूरा भएको छ। उक्त बुद्धको मूर्ति झण्डै १ करोड ५० लाखको लागतमा निर्माण भएको हो।
मूर्ति निर्माणसँगै थाप्लेमा चहलपहल बढेको छ। बालबालिकादेखि जेष्ठ नागरिकसम्म थाप्लेमा मूर्ति अवलोकनका लागि आउने गरेका छन्। आन्तरिक र बाह्य पयर्टकको चहलपहल बढेसँगै स्थानीय युवाहरुको लगानीमा रेष्टुरेन्ट र होटल सञ्चालनमा ल्याइएको छ।
अग्लो भू–भाग, सुन्दर, शान्त र रमणीय स्थलमा बनेको मूर्तिको स्थापनापछि थाप्लेमा दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेको सञ्जिवले बताए । दैनिक ५ सय भन्दा बढि पर्यटक घुम्न आउने गरेका छन्।