महोत्तरी। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन्।
सिंहले सोमबार मन्दिरमा विशेष पूजाअर्चना गर्दै यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्वका पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
मुख्यमन्त्रीले बाबा टुटेश्वरनाथ मन्दिरको व्यापक रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक विदेशी पर्यटक ल्याउन सकिने बताए।
उनले यस मन्दिर तथा बाबाको विकास विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुने तथा जीविकोपार्जनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे। बाबा टुटेश्वरनाथको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेस प्रदेश सरकार आवश्यक कदम चाल्न तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाए।