काठमाडौं। सुर्खेत उपत्यकामा आजेदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु भएको छ। वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको हो।
कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए। प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो। सञ्चालक शाहीले विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख गरे।
समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ। पाँच जनाको समूहलाई रु तीन हजार २००, १० जनाको समूहलाई रु दुई हजार ८०० र १० भन्दा बढी आउनेलाई रु दुई हजार ५०० शुल्कमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन्। उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप रु एक हजार तिर्नुपर्नेछ।
कर्णालीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक शाहीको भनाइ छ। “हामीले सुर्खेतमा प्याराग्लाइडिङ उडानका लागि यसअघि पनि प्रयास गरेका थियौँ, दक्ष जनशक्ति अभावका कारण नियमित सञ्चालन गर्न सकेनौँ”, उनले भने, “सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङका लागि उपयुक्त छ, हावाको बेगमा कुनै समस्या आइपरे आपत्कालीन अवतरणको पनि व्यवस्था मिलाइएको छ।”