दाङ। जिल्लाको छिल्लीकोटमा जिपलाइन निर्माण गर्न शुरु गरिएको छ। पर्यटकीय क्षेत्रका रूपमा रहेको तुल्सीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोटमा जिपलाइन निर्माणको काम भइरहेको हो।
एक करोड १० लाख लागतमा निर्माण भइरहेको जिपलाइनको काम छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले गरिरहेको छ। जिपलाइन पर्यटकीय स्थल छिल्लीकोटको कालिका मन्दिरबाट शुरु भएर स्थानीय झुल्के सामुदायिक वनको भेरीखोलामा ‘ल्यान्ड’ हुनेछ ।
१२ सय मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्ने गरी काम अघि बढाएको बताइएको छ। दुई कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको र प्रतिव्यक्ति एक सय रुपैयाँ मन्दिरलाई छुट्याउने सहमति भएर काम अघि बढेको छ। ऐतिहासिक, भौगोलिक तथा धार्मिक क्षेत्रका रूपमा छिल्लीकोट चिनिएको छ । तर, यहाँ अझै पनि राज्यको नजर नपर्दा उल्लेख्य रूपमा विकास हुन नसकिरहेको अवस्थामा जिपलाइनले धेरै सहज हुने स्थानीय बताउँछन्।