सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ स्थित गोठीकाँडा बयलकाँडामा प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ। पछिल्लो दुई महिनादेखि बयलकाँडामा व्यावसायिक प्याराग्लाइडिङको परीक्षण भइरहेको हो।
सुर्खेतका व्यवसायी पदमबहादुर शाहीले पोखराबाट तीन जना पाइलट ल्याएर सुर्खेतमा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण सञ्चालन गरेका हुन् । पाइलट किरण सुनुवारका अनुसार अहिलेसम्म दुई सयभन्दा धेरै जनाले प्याराग्लाइडिङ उडान गरेका छन् ।
जसमा एकैदिन ३३ जनासम्मले प्याराग्लाइडिङमा यात्रा गरेको उनले सुनाए । सुर्खेतमा ६ जनासम्म पाइलट आएपनि अहिले दुई जनाले मात्रै नियमित प्याराग्लाइडिङ उडान गरिरहेका हुन् । परीक्षण समय भएपनि प्याराग्लाइडिङमा आकर्षण बढ्दै गएको उनको भनाइ छ । अहिले दैनिक यात्रा गर्ने यात्रुसँगै प्याराग्लाइडिङ हेर्ने मानिसहरुको दैनिकजसो बयलकाँडामा भीड लाग्ने गरेको छ ।
अहिले एक जना यात्रुले उडान गरेबापत तीन हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ । त्यसमा यात्रुको फोटो तथा भिडियो पनि उपलब्ध गराउन थप एक हजार रुपैयाँ लिने गरिएको छ । परीक्षण उडान सफल भएमा सुर्खेतमा व्यवसायिक उडान सुरु गरिने बताइएको छ।