स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटन नै प्रदेशको समृद्धिको आधार भएको बताएका हुन्।
उनले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार–प्रसार जरुरी रहेको बताए ।
धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको थियो, अब पनि त्यही अनुसार प्रचार गर्न सक्नुपर्छ ।’
हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने भनाइ राखे । रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।