काठमाडौं। पोखराको सराङ्कोटमा जिपलाइन सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण केवलकारको माथिल्लो स्टेशनमा उडि एडभेन्चर प्रालिले जिपलाइन सहित स्काई साइक्लिङ र जायन्ट सुईङ सञ्चालनमा ल्याउन लागेको हो।
वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउन आवश्यक उपकरणहरु जडानका कामहरु भइरहेको उडि एडभेन्चरका सञ्चालक केदार थापाले जानकारी दिए । १ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सो जिपलाइन १०० मिटरको रहने छ । यस्तै ६० मिटरको स्काई साईक्लिङ रहने जनाएको छ । केवलकारमार्फत सराङ्कोट पुग्ने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई थप मनोरन्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याएको उनले बताए ।
रोज इन्टरनेशनल कम्पनीमार्फत निर्माण भइरहेको सो जिपलाइनमा दैनिक ४०० जनाले खेल्न पाउने छन् भने साइक्लिङमा २०० र स्वीङमा १०० जनाले सेवा लिन पाउने छन् । सराङकोटमा जिपलाइनसँगै ओपन बियर बारसमेत सञ्चालन हुनेछ ।
आन्तरिक एवंम बाह्य पर्यटकहरुको पहिलो रोजाईमा पर्ने पोखरामा एक पछि अर्को पर्यटकीय खेलहरु निर्माण भइरहेको बेला जिपलाइन पनि सञ्चालन गर्न थालिएको थापाको भनाई छ ।