रौतहट। चन्द्रपुर नगरपालिका–८ मा रहेको सिमसार क्षेत्रमा नेपाली सेनाले सफाइ गरेकाे छ। पर्यटकीय गन्तव्य बोकेको चन्द्रपुरको सिमसार क्षेत्र सफाइमा नेपाली सेना खटिएको हो।
जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुरको समन्वयमा सिमसारको सफाइ अभियान थालिएको हो। नेपाली सेनाको वीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण कार्यक्रमअन्तर्गत सिमसारको सफाइ थालेको छ।
१५ फिट गहिरो र १ किलोमिटर भन्दा बढी लम्बाइ तथा २ सय मिटरभन्दा बढी चौडाइ क्षेत्र ओगटेको सिमसार जलकुम्भी झारले ढाकिएको थियो। जितिया पर्वमा सो सिमसारबाट थारू समुदायले माछा मार्ने प्रचलन रहँदै आएकोमा जलकुम्भी झार र फोहोरले गर्दा सो कार्य समेत बन्द भएको थियाे। नेपाली सेनाले सफाइका क्रममा सिमसार भित्र रहेका जलकुम्भी झार निकालिरहेका छन्।
नेपाली सेनाले करिब १० दिनभित्र सक्ने लक्ष्यका साथ सिमसार क्षेत्र सफाइमा जुटेको छ। याे सिमसारमा दुर्लभ चराहरु सारस, पानीहाँस, झिल्ला र साइबेरियन चराहरु देखिने गरेको छ।