हुुम्ला। कर्णाली नदीको दोभानमा पर्यावरणीय पार्क निर्माण भइरहेको छ। कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुमा पर्यावरणीय पार्क निर्माण भइरहेको हो।
उक्त पार्कको निर्माणले टापुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। अहिले दुुवै नदीको किनारामा ग्याबीन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ। टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ।
सिमकोटको नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाले जनाएको छ। पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको बताइएको छ। पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने गाउँपालिकाले दाबी गरेको छ।
गत भदौमा निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको उक्त पार्कको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ।