मकवानपुर । हेटौंडाको सहिद स्मारक पार्क आन्तरिक एवं बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ । सहिद स्मारकको अवलोकन गर्न अहिले दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन ।
विभिन्न कालखण्डमा आफ्नो जीवनको आहुती दिने सहिदहरूको प्रतीकस्वरूप १२ जना सहिदका मुखाकृति एउटै ढुंगामा कुँदेर स्थापना गरिएको सहिद स्मारक पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको छ ।
३० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सहिद स्मारकमा आकर्षण गर्न पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएको छ । पर्यटकलाई आकर्षण गर्न जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, स्वीमिङपुल आदिको पूर्वाधार निर्माण गरेको छ ।
सार्वजनिक बिदा र शनिबारका दिन सहिद स्मारकमा थामिनसक्नु आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन । बिशेषगरि उक्त स्मारकमा असोजदेखि माघ महिनाको अन्तिमसम्म पिक्निक गर्नेको घुइँचो लाग्ने गर्छ ।