काठमाडौं । बालाजुमा रहेको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिकाले २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याएको हो ।
अठार लाख लिटर पानी अटाउने उक्त पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ देखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ भने पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।
बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण गरिएका थिए । पछि रणबहादुर शाहले बीचमा एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ मा तत्कालिन राजा महेन्द्र शाहको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि भने यो २०२१ सालदेखि खुला गरिएको हो ।
सञ्चालनको पहिलो दिन २०५ जनाले सेवा लिँदा रु ४० हजार शुल्क संकलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयले जनाएको छ ।