काठमाडौं। काठमाडौं महानगरपालिका–१९ मा पर्ने इन्द्र सभाको पुननिर्माण सम्पन्न भएको छ। महानगरपालिकाले १ करोड ४६ लाख लागतमा इन्द्र सभा पुननिर्माण गरेको हो।
यो सभास्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो।
दुई रोपनी ३ पैसा जग्गामा इन्द्र सभा परिसर पुननिर्माणका कार्य भएको छ। ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ । पुननिर्माणका लागि २०७८ कार्तिक ११ गते १ वर्ष अवधि दिएर कार्यादेश दिइएको थियो । तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर २०८० वैशाख १० गतेसम्म पुर्याइएको थियो । थपिएको अवधिमा काम सकिएको हो ।
पुननिर्माणका क्रममा २ वटा ठूला प्रवेश द्वार, एउटा ठूलो र एउटा सानो फल्चा, दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन् । यस्तै भुइँमा इटा, ढुङ्गा विछ्याउने, आकाशे पानी संकलन र पुनभरण प्रणाली जडान लगायत काम भएका छन् । पुननिर्माण भएको फल्चामध्ये एउटा १३ मिटर लम्बाई र ३ मिटर चौडाई भएको एल आकारको अर्को ४ मिटर लम्वाई र ३ मिटर चौडाई भएको सानो छ ।