एजेन्सी। पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको लोधरान जिल्लामा एउटा भ्यान र ट्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
जिल्लाको दुनियापुर क्षेत्रमा विवाह भोज बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर तीन महिला, दुई पुरुष र एक बालकसहितको शव निकालेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको बताएको छ ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका छ । घाइतेमध्ये महिला र बालबालिका धेरै रहेको चिकित्सकहरूले बताएका छन् । प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।