काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ। पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो।
नगरप्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका हुन्। नवनिर्मित प्रशासकीय भवनको आज माघ ५ गते पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दैछन्। भवनको शिलान्यास पनि पौडेलले नै गरेका हुन्।
बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिणभागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो। भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ।
चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो। निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण समयमा निर्माण कार्य नसकिएको जनाइएको छ।