गोरखा। पालुङटार नगरपालिकाका वडा नम्बर ७ को प्रशासनिक भवन निर्माण पूरा भएको छ। भवनको गत बिहीबार नगर प्रमुख ई दिपकबाबु कडेंलले उद्घाटन गरेका हुन्।
वडा नम्बर ७ च्याङ्गलीको वडा कार्यालय भवन उद्घाटन भएसंगै अब नगरपालिकाका १० वटै वडाले आफ्नै भवनबाट सेवा दिन थालेका छन्।
वडा नम्बर १, २ र ६ बाहेकका वडामा आफ्नै कार्यालय भवन नभएपछि पालुङटार नगरपालिकाले सुरुवाती वर्षादेखि नै वडा कार्यालय निर्माणमा बजेट बिनियोजन गर्दै आएको थियो । हालसम्म वडा कार्यालय भवन निर्माणमा मात्रै नगरपालिकाले करिब ६ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।
जसमा यसअघि वडा नम्बर ३, ४, ५, ८ र ९ को भवन निर्माण भइसकेको छ भने ७ को पनि निर्माण पूरा भइ उद्घाटन गरिएको छ।
७ नम्बर वडाको भवन निर्माणमा नगरपालिकाले ५४ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । आमा इन्जिनियरिङ्ग कन्सल्टेन्टले निर्माण जिम्मा पाएको भवनमा ३ कोठा छन् । यसअघि अस्थायी टहरोबाट सेवा दिइरहेको वडाले अब भने सेवा प्रवाह व्यवस्थित हुने जनाएको छ।