काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ। दुई वर्षदेखि रोकिएको स्वास्थ्य चौकीको निर्माण कार्य औपचारिक रुपमा सुरुवात भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँचवटा वडामा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो।
वालिङ नगरपालिका–५ मा जगत भञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला सहरी स्वास्थ्य केन्द्र,वडा नं. ११ मा कागती भञ्ज्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं. १२ मा सिर्सेकोट स्वास्थ्यचौकी, र वडा नं. १४ को डुम्रेभञ्ज्याङमा सहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ।
वडा नं. ५ र १२ मा स्वास्थ्य चौकीको दुईवटा भवन निर्माणका लागि ६४–६४ लाख, अन्य तीनवटा सहरी स्वास्थ्य केन्द्रका लागि ३८ लाखका दरमा विनियोजन बजेटबाट बोलपत्र आब्हान गरी सकिएको नगरपालिकाले जनाएको छ।
अब केही दिनमा निर्माण कम्पनी छनोट गरी तोकिएको समयावधि भित्रै भवन निर्माण सम्पन्न हुने बताइएको छ।