गोरखा। गोरखाको गण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दीपक तिमिल्सीनाले पालिका भवन निर्माणको टेण्डर खारेज गरेका छन्। लामो समयदेखि विवादमा रहेको भवन निर्माणको कार्य सुल्झाउन निवार्चित भए लगतै अध्यक्ष तिमिल्सीनाले टेण्डर खारेज गरेका हुन्।
कार्यपालिकामा सर्वसम्मत हुन नसकेपछि तत्कालीन अध्यक्ष होमबहादुर रानाले भुम्लीचोकको ओखलडाँडामा अस्थायी केन्द्र तोकेर भवन निर्माणको टेण्डर निकालेका थिए। पटकपटक यस विषयमा गाउँसभामै विरोध भरहेको थियो। माओवादी जनप्रतिनिधिले बन्टारमा कार्यालय राख्नुपर्ने माग अघि सारेका थिए।
कांग्रेसले भने अहिले भइरहेको केन्द्र नै उपयुक्त हुने बताएका थिए। पार्टीगत विवादका कारण नै अहिलेसम्म केन्द्र तोक्न नसकेको हो। नयाँ निर्वाचित अध्यक्ष दीपक तिमिल्सीनाले पदभार ग्रहण गरेसँगै पहिलो निर्णयमै भवन निर्माणको टेण्डर रद्द गर्ने निर्णय गरेका हुन्।
‘टेण्डर निकाल्ने निर्णय कार्यपालिकाबाट भएको रहेछ। सम्बन्धित ठाउँमा जानकारी पनि पुगेको छैन,’ उनले भने, ‘न श्रोतको ग्यारेण्टी छ, न केन्द्रको सर्वसम्मत निर्णय छ। यसरी काम गर्न सकिँदैन।’ उनले श्रोतको खोजी गरेर पुनः इस्टिमेट गरेपछि मात्रै टेण्डर निकाल्ने बताएका छन्।