काठमाडौं। ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ।
वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ। फोहोर व्यवस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो। ग्यास बाहिरिन पाइप राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ।
रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ। त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ।
यसैबीच कामपाले प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको छ। करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ।