काठमाडौं। दार्चुलामा नेपाल–भारत जोड्नेगरी महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएसँगै आवतजावतमा सहज भएको छ।
तुइन विस्थापन कार्यक्रम अन्तर्गत व्यास गाउँपालिका –६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका –६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएका छन्।
मालिकार्जुन गाउँपालिकाका अनुसार तुइन र ट्युबबाट नदी तर्ने क्रममा धेरैले अकालमै ज्यान गुमाएका थिए, अहिले आएर पुल निर्माण भएपछि जोखिमपूर्ण यात्राको अन्त्य भएको छ। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले दार्चुलाको महाकाली नदीमाथि चारवटा झोलुङ्गे पुल निर्माण भइरहेको छ।
दुई वटा पुलहरु सञ्चालनमा आइसकेको भएपनि थप दुईवटा पुलमा निर्माण कार्य जारी रहेको दार्चुलाले जनाएको छ। तुईन विस्थापन अन्तर्गत पुल सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताए।
वर्षौदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका स्थानीयहरु तुइनको ठाउँमा झोलुङ्गे पुलमार्फत नेपाल–भारत आवतजावत गरिरहेका छन्।
व्यास –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे। नेपालतिरको बाटोबाट जाँदा ६ घण्टा समय लाग्छ। भारतबाट जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो। अहिले बडूगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ।
झोलुङ्गे पुल निर्माणपछि अब दुहुँ, व्यास, मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको स्थानीयले बताए। नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्यास गाउँपालिले बताएको छ।