काठमाडौं। अछाम साँफेबगरमा विभिन्न ६ वटा नयाँ सडक निर्माण गरिने भएको छ। ८८ लाख लागतमा उक्त सडक निर्माण गरिने भएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामले ६ वटा नयाँ सडक निर्माणका लागि ३ महिना अगाडि ठेक्का आह्वान गरेको थियो।
कार्यालयका अनुसार विनायक–लयाती–पुल्लेटोला–रामारोशन खण्ड सडक निर्माणको लागि १६ करोड ३७ लाख रुपैयाँमा सनीदेव निर्माण सेवा प्रालीले जिम्मा पाएको छ।
साथै चिसापानी–बडीमालिका सडक योजनामा पर्ने गैरीटाड–डर्ना खण्ड सडक निर्माणको लागि १७ करोड १४ लाख रुपैयाँ लागतमा सनीदेव निर्माणलेनै पाएको छ।
यसैगरी चौखुट्टेचौरपाटी सडक निर्माणको लागि पीएस कन्स्ट्रक्सन कम्पनीले १३ –करोड २२ लाख रुपैयाँमा ठेक्का पाएको छ। यस्तै साँफे–बुद्धकोट सडक निर्माण कार्यका लागि रोयल कन्स्ट्रक्सनले जिम्मा पाएको छ। यो सडक निर्माणको लागत १५ करोड १० लाख रुपैयाँ छ। यस्तै मंगलसाइन–रामरोशन सडक निर्माणको लागि १३ करोड ९ लाख रुपैयाँमा रोयल कन्स्ट्रक्सनले नै जिम्मा पाएको छ।
कार्यालयले साँफे-रिसिदह सडक खण्ड निर्माणको जिम्मा भने नति कन्स्ट्रक्सन प्रालिलाई दिएको छ। उक्त सडक निर्माणका लागि ठेक्का आह्वान गर्दा आवेदन परेका निर्माण व्यसायी मध्ये नतिले कम कबोल १३ करोड २८ लाख रुपैयाँ गरेकाले ठेक्का पाएको हो।