लमजुङ। लमजङुमा चालु आर्थिक वर्षमा निर्माणाधीन ९ वटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेवल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेवल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।
पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेसीशहर–सुन्दरवजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेवल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेवल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेवल पुलको निर्माण कार्य सकिएको हो ।
त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेवल पुल र दुधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।