काठमाडौं। सडकमा सुकाको बिस्कुनको कारण दुर्घटनाको जोखिम बढेको छ। सर्लाहीको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको हो।
उक्त स्थानका किसानले मकैलगायत अन्य अन्यबालीको बिस्कुन सडकमै सुकाउने गर्छन्। हिजोआज जिल्लाको चन्द्रनगर, हजरिया, जानकीनगर, राजघाट, जियाजोरलगायत क्षेत्रमा किसानले सडकमै मकैको बिस्कुन सुकाएको पाईन्छ।
राम्रोसँग सुक्ने भएकाले अन्नबाली सडकमै सुकाउने गरेको स्थानीयले बताए। एकैपटक भित्याएको बाली त्रिपाल र गुन्द्रीमा सुकाएर सम्भव नभएका कारण सडकमा सुकाउन बाध्य भएको उनिहरुको भनाई छ।
एक स्थानीयले यो वर्ष सात कठ्ठामा रोपेको हाइब्रिड (वर्णसङ्कर) जातको मकै खेत छेउकै सडकमा सुकाएर बेचिसकेका छन्। किसानले सुकाएको अन्नबालीको बिस्कुनले आधा सडक नै ढाक्ने गरेको छ।
आधा सडक ढाक्ने गरी बिस्कुन सुकाएर छेउमा ढुङ्गा र काठले घेर्ने गरिन्छ। भित्री सडकमा यसरी जथाभावी बिस्कुन सुकाउने कार्य रोक्न स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन्।