काठमाडौं। अविरल वर्षाका कारण सडक भासिएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा पानीले खोतेलेर सडक भासिएपछि आइतबार बिहान ४ बजे देखि सडक अवरुद्ध भएको हो।
तनहुँको डुम्रे बजार र लमजुङको बेँसीसहर जोड्ने सो सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन्। उक्त सडकले तनहुँका अतिरिक्त लमजुङ, गोरखा र मनाङ जिल्लाका धेरै भू–भाग यो सडकले जोडेकोले स्थानीयबासी प्रभावित भएको प्रहरीले जनाएको छ।
सडक विभाग यात्रिन्क कार्यालय डुम्रे, सडक डिभिजन कार्यालय लमजुङलाई सडकको अवस्थाबारे जानकारी गराई सकिएको छ। सडकको धेरै भाग भासिएकोले दुई तर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।