काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको हो।
जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ। अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ।
पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको भनाइ छ। बागलुङ बजारको मालढुङ्गा, बलेवा, जैमिनी नगरपालिका–१ कुश्मिसेरा, वडा नं ५ बिनामारे, वडा नं ६ अर्जेवा, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको तल्लो खण्डमा कालीगण्डकी करिडोर सडक पर्दछ।