बागलुङ। सरकारले बागलुङको काठेखोला अछतेब्यूदेखि गलकोटको नरेठाटी सुरुङ मार्गको अध्ययनका लागि बजेट छुट्याएको छ। सूरुङ मार्ग विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययनका लागि ५० लाख रुपैयाँ रकम छुट्याएको हो ।
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ वटा नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ ।
गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछतेब्यूदेखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि रकम योजना समावेश गरिदिन आग्रह गरेका थिए ।
‘बागलुङ जिल्लाको विकाशका लागि म संक्रिय छु,’मन्त्री पौडेलले भने, ‘राष्ट्रिय गौरबको योजना अन्तर्गत अहिले शुरुङ मार्गको अध्ययनको कामका लागि बजेट विनियोजन भएको छ आर्थिक वर्ष २०७९/८० मा सम्भाव्यता अध्ययनको काम अघि बढ्छ ।’
मन्त्री पौडेलले निर्वाचन रणनैतिक सडकका लागि १ करोड रुपैयाँ विनियोजन भएको बताए । राष्ट्रिय गौरवको योजना अन्तर्गत उत्तरगंगा जलाशययुक्त परियोजनाका लागि २ करोड विनियोजन भएको समेत उनले बताए ।