काठमाडौं। पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ।
पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस्तै, सङ्घीय राजधानी काठमाडौँ जोड्ने कान्ति राजपथ, त्रिभुवन राजपथ र मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ।