काठमाडौं। कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा पहिरो पन्छाउने काम अब करिडोरको कार्यालयले ब्यवस्थापन गर्ने भएको छ। कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पाका अनुसार क्षेत्रीय कार्यालयबाट बजेटको ब्यबस्थापन भएकाले अब पहिरो पन्छाउने काम कार्यालयले गर्ने भएको हो।
यसअघि कार्यालयमा मर्मत सम्भारका लागि बजेटको ब्यबस्था नभएकाले आवश्यक बजेटका लागि माग गरिएको र बजेटको ब्यबस्था भएपछि समस्याको समाधान भएको कार्यालयले जनाएको छ। नेपाली सेनाले बम ब्लाष्ट गरेर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परेपनि पहिरो खस्ने समस्याले विगतदेखि नै आफुहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।
विगतका बर्षदेखि नै यो समस्याले आफुहरुलाई सताएको भन्दै पहिरो पन्छाउनमा गाउँपालिकाको धेरै बजेट खर्चिनुपरेको बताइएको छ। असारदेखि दशैसम्म सडकमै डोजर खडा गरेर राख्नुपर्ने बाध्यता भएको छ। कति बेला कहाँ पहिरो जान्छ भनेर स्टेन्डवाई डोजर खडा गरेर राख्नुपरेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।