काठमाडौं। लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ। दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुल जोखिममा परेको बताइएको छ।
तीन दशकभन्दा अघि तामाकोसीमा बनेको उक्त सडक पुल पुरानो भएपछि पक्की पुल निर्माणका लागि गत २०७३ साल भदौ ७ गते मिलगिरि नेसनल जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। सो कम्पनीले नौ करोड ७४ लाख ९६ हजार रुपियाँको लागतमा २०७५ साल भदौ ५ गते पुल निर्माण सम्पन्न गर्नेगरी पुल योजना महाशाखासँग ठेक्का सम्झौता गरेको थियो।
सम्झौताअनुसार निर्माण अवधि सकिएको चार वर्ष बित्दासमेत पुलको भौतिक संरचना करिब ५१ प्रतिशतमात्रै निर्माण भएको छ। पुल निर्माणका लागि पुल योजना महाशाखाले दुई पटक म्याद थप गरिसके पनि काममा प्रगति हुन नसकेको सडक पुल महाशाखा सेक्टर नम्बर २ काठमाडौँले जनाएको छ।
कम्पनीले पुलको वैतेश्वर र भीमेश्वरतर्फको जग र पिलरको काम सुरुमात्रै गरेर अलपत्र छाडेको छ। तामाकोसी बजारको अव्यवस्थित घरटहरा हटाउन तीन वर्ष लागेको र कोरोना महामारी तथा निर्माण सामग्रीको मूल्यवृद्धिलगायतका कारण सडक पुल निर्माणमा ढिलाइ भएको मिलगिरि नेसनल जेभी कम्पनीका युवराज डाँगीको दाबी छ। उनले पिलर राख्ने काम सम्पन्न भइसकेको र सुपर स्ट्रक्चरको काम एक वर्षभित्र सम्पन्न गर्ने बताए।
फुटपाथसहित ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको आर्क ब्रिज निर्माण अन्योल हुँदा पूरा हुने टुङ्गै छैन। नयाँ पुल निर्माणमा ढिलाइ हुँदा ३७ वर्षअघि निर्माण भएको तामाकोसीको सडक पुल उच्च जोखिममा परेको छ। तामाकोसी नदीमा पानीको ठूलो बहाव आएमा पुल बगेर जाने जोखिम बढेको स्थानीयले बताएका छन्। जोखिममा परेको तामाकोसी पुलमा कुनै क्षति पुगेमा रामेछाप र दोलखाको सदरमुकाम चरीकोटसम्मको सडक सम्पर्क टुट्ने र सडक सञ्जाल पनि बन्द हुनेछ। गोरखापत्रबाट