काठमाडौं। निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ।
बेंसीशहर नगरपालिका–६, उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ। पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ। म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीशहर हुँदै मनाङ जोड्ने सडक ठाउँ–ठाउँमा पहिरोले क्षति पुर्याएको छ। डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ। मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए।