काठमाण्डौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहोर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएकाछन। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको हिजो अवलोकन गर्दे उनले खानेपानीको माग धेरै आउने गरे पनि फोहोर पानी प्रशोधनको माग कम हुने गरेको बताएका हुन्।
फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राखेकाछन। “जनसङ्ख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाट लगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ”, उनले भने।
धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ। यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ। यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ।
सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ। दोस्रो आयोजना समयमै सकिए पनि केन्द्र सञ्चालनमा भने आउन नसक्ने भएको छ। पहिलो आयोजनासँगै दुवै आयोजना सञ्चालनको पूर्वाधारको संरचना पनि बन्न बाँकी रहेकाले चलाउन नसकिने जनाइएकोछ।
दुवैको काम समयमै सकेर प्रशोधन केन्द्र समयमै सक्न पनि मन्त्री चौधरीले निर्देशन दिए। आयोजनाको काम अघि बढाउँदा स्थानीयवासीसँग भएको प्रतिबद्धता पूरा गर्न पनि मन्त्री उनले निर्देशन दिएकाथिए ।