काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका तराई भूभागका केही स्थानहरू हुस्सुरकुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियससम्म पुगेको छ । जुम्लामा सबैभन्दा चिसो माइनस ६।६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४।५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ ।
आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।