प्रधानमन्त्री बालेन शाहले रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताएका छन्।
भदौ १० गतेको विनाशकारी बाढीयता सामाजिक सञ्जाल फेसबुकमार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्री बालेनले आइतबार राति साढे ८ बजेको पोस्टबाट उक्त जानकारी दिएका हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दिएको विवरण अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। यहाँ अहिलेसम्म २५४ जनाको उद्धार गरिएको र ३०० जना सुरूङमा फसेको इप्पानले जनाएको छ।
प्रधानमन्त्री बालेनले प्रभावित क्षेत्रका विद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको बताएका छन्।
माथिल्लो त्रिशूली–१ आसपासबाट पछिल्ला २ दिनमा २५० जनाको उद्धार गरिएको उल्लेख गर्दै उनले चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको जानकारी दिएका छन्।